काठमाडौं\एजेन्सी । सरकार विरोधी प्रदर्शन जारी रहेका बेला कजाकस्तानका राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बल कजाकस्तान छिरेको छ । इन्धनको मूल्यवृद्धिलाई लिएर केही दिनदेखि सुरु भएको अस्थिरताबीच प्रमुख सहरमध्ये एक एल्माटीमा मसिन गन प्रहारको आवाज सुनिएको बीबीसीले लेखेको छ । अधिकारीहरूले त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाएका छन्। राष्ट्रपतिले विना कुनै प्रमाण विदेशमा प्रशिक्षण लिएका आतङ्कवादीहरुले पछिल्ला घटना घटाएको समेत बताउने गरेका छन् ।
बुधवार एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन सीएसटीओ लाई प्रदर्शन मत्थर पार्न सहयोग गर्न अपिल गरेका थिए। उक्त सङ्गठनमा रुस, कजाकस्तान, बेलारुस, ताजिकिस्तान अनि आर्मिनिया सदस्य छन्। हाल कजाकस्तानमा पठाइउन लागिएको कुल सैन्य सङ्ख्या २,५०० रहने बताइएको छ। सीएसटीओले ती सुरक्षा अधिकारीहरू शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ। उनीहरू कजाकस्तानमा केही दिन वा केही हप्ता बस्न सक्ने एक रुसी समाचार संस्थाले जनाएको छ।
अमेरिकाको विदेश मन्त्रालयले आफूहरूले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ। प्रदर्शन चर्किएसँगै कजाकस्तानमा सङ्कटकाल घोषणा गरिएको छ। सरकारी निकायहरूले गाडीमा प्रयोग गरिने इन्धनको मूल्य बढाएसँगै देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको हो।