रुस-युक्रेन युद्ध जारी, युद्धविराम गर्न पुटिनलाई तिब्र दवाव

काठमाडौं । युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार पनि आक्रमण जारी रह्यो । शनिबार निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर प्राप्त भएको बीबीसीले लेखेको छ । जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन्।

युक्रेनमा जारी युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलको क्रममा उनीहरूबीच शनिवार ७५ मिनेट लामो टेलिफोन वार्ता भएको सोल्जका प्रवक्ताले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धविराम नभएसम्म रुससँग कुनै पनि छलफल अघि बढ्न नसक्ने बताएका छन्। पत्रकार सम्मेलनमा उनले १,३०० युक्रेनी फौजको मृत्यु भएको जानकारी दिए। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

रुसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेको समेत बताएका छन् । राष्ट्रपति जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस आतङ्क नयाँ चरणमा अघि बढेको आरोप लगाए ।