काठमाडौं । युद्धविराम गर्न रुस र युक्रेनबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । जसका कारण युक्रेनमा रुसी हमला जारी छ । यद्दपी युक्रेनको कडा प्रतिवादका कारण रुसी सैनिकको गतिमा भने कमी आएको बीबीसीले लेखेको छ । मंगलबार पनि युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्। अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्।
उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्। रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन्। युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्। संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ।