रूसी आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु, शान्ति प्रक्रियामा विश्वास घट्दै

Russian President Vladimir Putin speaks with Sberbank CEO German Gref during their meeting at the Kremlin in Moscow, Russia, Tuesday, July 29, 2025. (Mikhail Metzel, Sputnik, Kremlin Pool Photo via AP)

एजेन्सी
१४ साउन, काठमाडौं । एकातिर युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण हवाई आक्रमण गर्दै कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै, रुसले शान्ति प्रक्रिया प्रतिको प्रतिबद्धता जनाएको छ । मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका छन् ।

यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएका थिए । यदि सो समयसीमाभित्र रुसले आक्रमण रोक्न अस्वीकार गरेमा, कडा आर्थिक प्रतिबन्ध लागु गरिने चेतावनी दिइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिणी जापोरिझिया क्षेत्रको एक कैदीगृहमा जानाजान आक्रमण गरिएको आरोप लगाएका छन् । सो आक्रमणमा १६ कैदीको ज्यान गएको र ४० भन्दा बढी घाइते भएको बताइएको छ ।


“यो योजनाबद्ध हमला हो, दुर्घटनावश होइन । रुसले त्यहाँ सर्वसाधारण कैदी रहेको कुरा थाहा नपाउने कुरा सम्भव छैन,” राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । रुसी प्रवक्ता दिमित्री पेस्कोभले यस्ता आरोप अस्वीकार गर्दै भने, “रुसी सेनाले कहिल्यै सर्वसाधारणलाई लक्षित गर्दैन ।”

युक्रेनी वायुसेनाले जनाएको अनुसार, रुसले ३७ ड्रोन र दुई मिसाइल प्रक्षेपण गरेको थियो, जसमध्ये ३२ ड्रोनहरू मारिएका छन् । यद्यपि, डनिप्रो क्षेत्रमा रहेको क्याम्यान्स्के सहरको एक अस्पतालमाथिको आक्रमणमा २३ वर्षीया गर्भवती महिला डायना सहित तीन जनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिए । नुभयो । खार्किभ क्षेत्रमा गरिएका छुट्टाछुट्टै हमलामा ६ जनाको मृत्यु भएको छ।

युक्रेनी मानवअधिकार आयुक्त द्मित्रो लुबिनेत्सले जेलमाथिको आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिए । “कैदीले पनि जीवन र सुरक्षाको अधिकार गुमाउँदैनन्,” उनले सामाजिक सञ्जालमा लेखे । रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा, रुसी सेनाले नयाँ गाउँहरू कब्जामा लिएको दाबी गरेको छ । युक्रेनले यथासम्भव आक्रमण रोक्ने प्रयास गरिरहेको छ, यद्यपि रूसी फौज केही नयाँ क्षेत्रमा समेत अघि बढेको देखिएको छ ।