जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनको मिति तय भएसँगै नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । आगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन थालेको छ ।
जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार राख्ने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिकबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई उदृत गर्दै राससले लेखेको छ । उनका अनुसार ‘रेल्वे लिकमै हाटबजार लगाउँदै आएको छ । महाप्रबन्धक झाका अनुसार हाटबजार रेल्वे लिकबाट अन्यत्र सार्ने विषयमा जनप्रतिनिधि, व्यापारी र स्थानीयसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजीसमेत भइरहेको छ ।
हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाले बताए । खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (बिना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन नगरेसम्म बीना यात्रु गुड्ने र उद्घाटन पछि मात्र यात्रुसहित गुडाउने तयारी छ । गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।