रोजगारीका लागि विदेश जाने बढे

Photo : BBC

काठमाडौं । वैदेशिक रोजगारीका विदेश जाने नागरिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको हो । कोरोनाका कारण रोकिएको कामदारको माग पुनः बढ्न थालेसङ्गै रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या समेत बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मङ्सिर)मा ९७ देशमा जान दुई लाख २३ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार आव २०७८/७९ को यो पाँच महिनामा सबैभन्दा धेरै मङ्सिर महिनामा ७४ हजार ३५४ जना र कात्तिक महिनामा ५४ हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन् । असोजमा ३९ हजार ६७१, भदौमा ३६ हजार ४० र साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

विभागका अनुसार मङ्सिर महिनामा वैदेशिक रोजगारी व्यवसायी म्यानपावर कम्पनीमार्फत ३१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कात्तिकमा २७ हजार ७०९ जना श्रमिकले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएकामा मङ्सिर महिनामा त्यो सङ्ख्या बढेको हो ।

असोजमा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना श्रमिकले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । मङ्सिर महिनामा व्यक्तिगत प्रयासमा नयाँ दुुई हजार २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

सो अवधिमा वैधानिक माध्यमबाट एक हजार ४०४ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३९ हजार ८७७ जना गरी समग्रमा मङ्सिर महिनामा ६९ हजार ४४३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार गत मङ्सिर महिनामा ६५४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमध्ये ६१४ कम्पनीले श्रमिक पठाएका छन् । मङ्सिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली श्रमिक गएकोमा म्यानपावर कम्पनीका तर्फबाट जम्मा १२ मुलुकमा श्रमिक गएका छन् ।