काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो ६ महिनामा रोजगारीको खोजीमा ४ लाख नेपाली विदेशिएका छन् । पुससम्म तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)लगायत मुलुकमा गएका छन् । यी भेगमा ८० प्रतिशत मानिस पुगेका छन् । पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् ।
श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँ छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएका छन् ।
सरकारले केही दिनदेखि विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सम्पूर्ण व्यवस्था गरेको छ । यी स्थानमध्ये केही स्थानबाट सेवा दिन सुरु गरिएको छ भने केही स्थानमा पूर्वाधारका सामान मिलाउने काम भइरहेको विभागले जनाएको छ । आव २०७८–७९ मा छ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएकामा चालू आर्थिक वर्षको छ महिनामै करिब चार लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।