रोनाल्डोले तोडे पेलेको रेकर्ड, पाए बधाई

काठमाडौं । युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ब्राजिलका फुटबलर पेलेको कीर्तिमान तोडेका छन् । गतराती इटालियन सिरी एमा क्याग्लीअरीबिरुद्धको खेलमा रोनाल्डोले ह्याट्रिक गरे । यससँगै उनले करिअरमा सबै प्रकारका गोलको संख्या ७ सय ७० पुर्‍याए । यो पेलेको भन्दा ३ गोल बढी हो। यसअघि उनी पेलेसँग बराबरीमा थिए ।

आफ्नो रेकर्ड तोडेका रोनाल्डोलाई पेलेले सामाजिक सञ्जालबाट बधाई दिएका छन् । पेलेले इन्स्टाग्रामबाट आफ्नो आधिकारिक कीर्तिमान तोडेकोमा रोनाल्डोलाई बधाई दिएका हुन । उनले जीवन एकल यात्रा रहेको भन्दै रोनाल्डोलाई भनेका छन्, ‘तिमी एउटा आफ्नै सुन्दर यात्रामा छौ। म तिम्रो धेरै प्रशंसा गर्छु। म तिमीले खेलेको हेरिरहन मन पराउँछु।’

यसअघि रोनाल्डोले ह्याट्रिक गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीविरुद्ध ३–१ को सहज जित निकालेको थियो । रोनाल्डोले ३३ मिनेटमै ह्याट्रिक पूरा गरेका हुन् । रोनाल्डोले खेलको १०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । २४औं मिनेटमा पेनाल्टीमा गोल गरे । ३३औं मिनेटमा पुनः अर्को गोल थप्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे ।