रियाद । विश्वका दुई स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो सामने सामने भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ। बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेल रोमाञ्चक बन्यो । खेलमा ९ गोल र एक रातो कार्ड सम्भव भयो । अधिकांश समय १० खेलाडीमा खेलेको फ्रान्सेली टीम पिएसजीले ५–४ को जित निकाल्यो ।
पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक–एक गोल गरे । साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमै लिओनेल मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।
नेयमारको पासमा मेसीले गोल गरे । खेलको ३४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। रोनाल्डोले पेनाल्टीमा गोल फर्काएका हुन् । त्यसपछि पीएसजी १० खेलाडीमा सिमित भयो । जुआनलाई कतारी रेफ्री अब्दुल्रहमान अल जासिमले सिधै रातो कार्ड देखाए । कप्तान मार्किन्हसले खेलको ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। नेयमारले पेनाल्टीमा गोल गर्न चुके । पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो।
दोस्रो हाफको सुरूवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो। खेलको ५३औं मिनेटमा पिएसजीले तेस्रो पटक अग्रता बनायो। केलियन एम्बाप्पेले बक्स भित्रबाट मिलाएको पासलाई रामोसले गोलमा परिणत गरे । त्यसको तीन मिनेटमै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरी भएको केही समयमै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत गोल गरे ।
मेसीको प्रहार अली अल बुलायहीले हातले रोकेपछि पिएसजीले पेनाल्टी पाएको हो । एम्बाप्पेको स्थानमा मैदान छिरेका युवा फरवार्ड ह्युगो एकिटिकेले ७८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई ३–५ को अग्रतामा पुर्याए।
तर इन्ज्युरी समयको अन्त्यमा रियादका एन्डरसन टालिस्काले गोल गर्दै खेललाई ४–५ को स्थितिमा पुर्याए र खेल सकियो ।