रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो

आबुधावी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राती एक रोमाञ्चक प्रतिस्पर्धामा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ । दुबै टोलीबाट २० ओभरमा समान २ सय १ रन बनेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा भने बैंगलोरले बाजी मार्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

आईपीएलको इतिहासमै यो सर्वाधिक रनमा बनेको टाइ थियो । कमजोर अवस्थामा रहेको मुम्बईलाई किरोन पोलार्ड र इशान किशनले उकासेका थिए । पोलार्डले २४ बलमा ६० रन र इशानले ५८ बलमा ९९ रन बनाएपछि खेल बराबरीमा आउने अवस्था बनेको हो ।


सुपर ओभरमा मुम्बईले बैंगलोरलाई मात्र ८ रनको लक्ष्य दिन सक्यो । यो लक्ष्य बैंगलोरका विराट कोहली र एबी डिभिलयर्सले सहजै पच्छ्याउन सफल भए । जारी आईपीएलमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पन्जाबबीच सुपर ओभर भएको थियो । यो खेल दिल्लीले जितेको छ ।