लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु

फाइलफोटो

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि गत चैतयता नेपालमा कुनै पनि तहका परीक्षण संचालन हुन सकेका थिएनन् । तर, ८ महिनापछि पहिलो पटक कक्षा १२ को परीक्षा हलमै संचालन भएको छ । आजबाट परीक्षा प्रारम्भ भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थीले परीक्षा दिँदैछन् । बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । एउटा कोठामा २० जनासम्म मात्र राखिएको छ । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने नियम छ ।


सबैलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइन्छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था छ । परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने गरी व्यवस्थापन गरिएको छ । परीक्षा मंसिर १६ मा सकिने छ ।