लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले मंगलबार करीव १ खर्ब बराबरका दुई परियोजनामा आउने विदेशी लगानी स्वीकृति गरेको छ । मंगलबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको हो ।

५४ करोड अमेरिकी डलर लागतको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र ३३ अर्ब ४१ करोड ४० लाख लागत अनुमान गरिएको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) का लागि लगानी स्वीकृत गरिएको हो ।

आजको बैठकले झापाको दमकमा निर्माण हुने सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाइएको मुलुककै सबैभन्दा ठूलो नेपाल–चीन मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन समेत स्वीकृत गरेको छ । परियोजनाको विकासकर्तासँग परियोजना विकास सम्झौता गर्न आवश्यक तयारी गर्न समेत लगानी बोर्डको कार्यालयलाई निर्देशन दिइएको छ ।

आजको बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययन गर्न सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्तासँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ ।
बैठकले तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्न देखिएको अस्पष्टता सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।