काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताए ।
लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएकोसमेत बताए । लम्पी स्किन रोग यसअघि दुईवर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए ।
प्रधामन्त्री प्रचण्डले भने, ‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदममा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ र क्षति भएको छ ।’ उनले आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री प्रचण्डले बैठकमा भने, ‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔँ र सोहीअनुसार योजना बनाऔँ ।’ उनले चीन र भारतको अभ्यास र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गोटपक्स भ्याक्सिन’ लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा सङ्घ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए ।
लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गाईभैँसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’ किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उहाँले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।