ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

Photo : Setopati

ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका हुन् ।

महानगरले सडकपेटीमा रोपिएको रुखमा ६ फिटसम्म हरियो रङ लगाउने भएको छ । यस्तो अभियान आइतबारबाट प्रारम्भ गरिने भएको हो । यसरी रंग लगाएको स्थानमा जथाभावी पम्प्लेट टाँस्न आउनेमाथि भने कारवाही हुने भएको छ ।

महानगरले तत्काल यो काम बाग्मती पुलबाट जावलाखेल लगनखेलहुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार, लगनखेलसम्म र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्ने उल्लेख गरेको छ ।

कसैले पोस्टर टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाइने भएको छ । महानगरले यसअघि महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाएको छ । सडक पेटी व्यवस्थित बनाउने अभियान समेत जारी रहेको छ ।