ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौैं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न २९० जना विरुद्ध मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले कीर्ते अभियोगमा ४ पूर्व मन्त्रीसहित २९० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय शाह विरुद्ध कीर्ते अभियोगमा मुद्दा दायर भएको हो ।

त्यसैगरी, सरकारी वकिलले बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्यसहित २९० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साथै, आरोपितहरुसँग १८ अर्ब रुपैयाँ बढी बिगो दाबी माग गरिएको छ ।

सीआइबीले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिए पनि सरकारी वकिलले कीर्ते अभियोगमा मात्र मुद्दा चलाएको हो ।

उक्त अनियमितता संगठित अपराध सम्बन्धी कानून जारी हुनुभन्दा पहिले भएको भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराध कसुरमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

संगठित अपराध निवारण ऐन, २०७० चैत १२ गते जारी भएको थियो । ललिता निवास जग्गा हिनामिना वि.सं. २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट भएको निर्णयका आधारमा भएको थियो ।

कुनै पनि कानून जारी भएको मितिपछि मात्रै लागू हुने भएकाले त्यसअघि भएका घटनामा त्यो कानून आकर्षित नहुने भन्दै सरकारी वकिलको कार्यालयले आरोपितलाई कीर्तेको अभियोगमा मात्रै मुद्दा चलाएको हो ।