काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणमा १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारसहित १ सय ७५ जनालाई यस काण्डमा दोषि देखेको छ ।
पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात समेत यस काण्डमा मुछिएका छन् ।
भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसमेत अख्तियारको अनुसन्धानबाट दोषि देखिएका छन् ।
मन्त्री डब्बर श्रेष्ठ र चन्द्रदेव जोशीसमेत यस काण्डमा मुछिएका छन् । सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर व्यक्तिको नाममा नामसारी भएको यो प्रकरणमा अधिकांश कर्मचारी मुछिएका छन् ।
अख्तियारको कार्यक्षेत्र भित्र नपर्ने भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल भने उम्कन सफल भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनाको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सोही अनुसार अख्तियारले छानविन अगाडी बढाएको थियो । साथै मन्त्रीपरिषद्कै निर्णयमा मुछिएका पूर्वमुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसमेत मुद्दाबाट बचेका छन ।
गुठी प्रशासनका खरिदारदेखि सहसचिवसम्मका कर्मचारी यस काण्डमा परेका छन् । जग्गाधनी र मोही भनिएका व्यक्तिसमेत यस प्रकरणमा दोषि देखिएर मुद्दा दायर भएको छ ।