लागुऔषध र हतियार कारोबारी भारतका गुण्डा नाइके बग्गा नेपालमा पक्राउ

काठमाडौं । लागु औषध र अवैध हातहतियारको कारोबारीमा कुख्यात गुण्डा नाइके भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादव नेपालमा पक्राउ परेका छन् । उनले भारतमा बसेर नेपालमा हतियार तथा लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका उनलाई शनिबार पक्राउ पछि सार्वजनिक गरेको छ ।

उनी विराटनगर महानगरपालिका १६ दरैया नाकामा प्रतिवन्धित लागुऔषधसहित प्रहरीको फन्दामा परेका हुन् । उनको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट बरामद भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्ने उनी प्रहरीको खोजीको सूचिमा थिए । प्रहरीका अनुसार उनीविरूद्ध नेपालमा हातहतियार, खरखजना तथा लागुऔषध मुद्दा छन् । उनले १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैध रुपमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल विस्तार गरेको प्रहरीको भनाई छ । प्रहरीले थप अनुसन्धान थालेको बताएको छ ।