काठमाडौं । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । योजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । गोसाइकुण्ड गाउँपालिका( ५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म गुरुङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आरएम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए ।
आयोजना निर्माणको काम दुई वर्षअघि कोभिड महामारीका बेला सुरु भएको थियो । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकालिनकल उपकरण आपूर्तिको काम भइरहेको र सामान आएलगत्तै जडान कार्य सुरु हुने अर्यालले बताए । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको आरएम ग्रुपले जनाएको छ। आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राकेटले गरिरहेको छ ।
लक्ष्मी सनराजइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम ग्रुपको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ७३ करोडमध्ये सनराइज बैंकले डेढ अर्ब, सिद्धार्थ बैंकले ५४ करोड, कुमारी बैंकले ३० करोड र बाँकी आरएम ग्रुपले जुटाउनेगरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । एक वर्षभित्र आयोजनाको निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य रहेको ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।