अमृता के सी ( रोनी )
काठमाडौँ, असार १८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आयोजनामा अक्सिजन बैंकको स्थापना गरेको छ । अक्सिजन बैंकको उद्घाटन पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाले गरेका हुन् ।
लायन वर्ष २०२१/२२ को लायन सप्ताह पारेर जुलाई १ तारिकका दिन गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित बिपि चोकमा अक्सिजन बैंकको उद्घाटन गरिएको हो।हाल १५ सिलिन्डर अक्सिजनबाट सुरु गरिएको उक्त बैंकलाई संस्थागत गरि विस्तार गर्ने लक्ष्य रहेको संचालकहरुले बताएका छन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, डिस्ट्रीक क्याबिनेट सेक्रेटरी लायन धर्म शरण श्रेष्ठ, टिम एरिया लिडर लायन श्रीधर भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा प्रमुख राम मानन्धर, लायन मनोज सुवेदी, लायन उमेश ढुंगाना लगायतका लायन्स लिडर र लायन सदस्यहरुको उपस्थिति रहेको थियो।

दोस्रो लहरको कोरोना भाइरसको कारण धेरै जस्तो कोरोना संक्रमितलाई श्वासप्रश्वासमा समस्या आई अक्सिजनको आवश्यकता परेको अवस्था छ । कोरोना कहरमा संक्रमित बिरामीहरु अक्सिजनको कारण जीवन मृत्यु संग लडिरहेको समयमा हस्पिटल देखि अक्सिजन प्लान्टमा सम्म अक्सिजन नभएर देशमा अक्सिजनको चरम अभाव सिर्जना भएको थियो। कोरोना महामारीको विषम परिस्थितिमा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले दिनरात नभनी बिरामीको जीवन रक्षाको लागि अक्सिजनको व्यवस्था गरि बिरामीको घर सम्म निशुल्क अक्सिजन पुर्याइदिएको जानकारी क्लबका संस्थापक अध्यक्ष विख्यात प्रसाद थपलियाले बताए ।अक्सिजन किन्न नसक्नेहरुको लागि भोलिका दिनमा समस्या नहोस् भन्ने उदेश्यले अक्सिजन बैंकको स्थापना गरेको थपलियाले बताए।निषेधाज्ञाको प्रतिकूल परिस्थितिमा बिरामीको जीवन रक्षाको लागी अक्सिजन नभई नहुने भएकोले सबैलाई सेवा पुर्याएको तर सहज परिस्थितिमा निम्न आयस्रोत भएका र अक्सिजन नपाएर समस्यामा परेका व्यक्तिहरुलाई मात्र निशुल्क अक्सिजन प्रदान गर्ने उदेश्यले अक्सिजन बैंकको स्थापना गरेको उनले बताए।

