अमृता के सी ( रोनी )
काठमाडौँ,जेष्ठ २६ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाले राजधानी सहित देशका धेरै जसो अस्पताल र रक्तकेन्द्रमा रगतको चरम अभाव भएपछि कान्तिपुर अस्पताल रक्त संचारको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो।स्वास्थ्य मापदण्डअनुसार सुरक्षित तवरले गरिएको कार्यक्रम काठमाडौँ महानगरपालिका वडा नं ६ नयाँबस्तिमा बिहान ९ बजे देखि दिउँसो १ बजे सम्म संचालन गरिएको हो ।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको संस्थापक अध्यक्ष विख्यात प्रसाद थपलियाले नमुना बौद्ध चेस क्लब, काइजेन फर किड्स प्रि स्कुल एण्ड डे केयर सेन्टर, श्री बागमती रुद्रेश्वर समाज, काठमाडौं महानगरपालिका वडा नं ६ परिवार र नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सको सहयोग रहेको जानकारी गराए।

उक्त आकस्मिक रक्तदानमा ५० पिन्ट रगत संकलन भएको आयोजकले विश्व न्युजलाई जानकारी गराए। हालको विषम परिस्थितिमा खेर जाने रगत स्वास्थ्य व्यक्तिलाई हरेक तीन महिनामा एक पटक रक्तदान गर्न समेत आयोजकले सम्पूर्ण रक्तदाताहरुलाई अनुरोध गरेको छ।कार्यक्रममा धेरै जना रक्तदाताहरुले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायतको कारणले गर्दा रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई आयोजकले धन्यवाद समेत दिएको छ।
