लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

१५ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै मिलिन्द कुमारले ७० रन बनाए । शयान जहागिरले ३६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन दिएर ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्शन झाले १–१ विकेट लिए । त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो ।

दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए । करण केसीले अन्त्यतिर आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २-२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १-१ विकेट लिए ।

जारी शृंखलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग २ तालिकाकै शीर्ष स्थानमा यथावत् छ । अमेरिकाको २३ खेलमा ३४ अंक छ । नेपाल १९ खेलमा १२ अंकसहित सातौंमा यथावत् छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।