काठमाडौं । लिपुलेकमा अब नेपाल सरकारले समेत आफ्नो उपस्थिति जनाउने भएको छ ।
नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारले समेत यस क्षेत्रमा आफ्नो उपस्थिति जनाउन लागेको हो ।
भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको माथिल्लो भेगमा सरकारको उपस्थिति नहुँदा भारतले नेपाली भूमिमा हालिमुहाली गर्न पाएको छ ।
अब कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार अब हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लगिने भएको छ ।
उनका अनुसार छिट्टै सशस्त्र प्रहरीको एक टोली त्यहा तैनाथ गरिने भएको छ । त्यसपछि सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना सरकारको छ ।
उनका अनुसार छाङरु र टिंकरमा घोडेटो र मोटरबाटो बनाउने तयारी समेत भइरहेको उनले जानकारी दिए । यसले नेपाली नागरिकलाई भारत जानुपर्ने बाध्यता समेत हट्ने छ ।
दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली राखिने भएको छ ।
छाङरु दार्चुला सदरमुकाम खलंगाबाट ९० किलोमिटर उत्तरपश्चिममा पर्छ ।
बीओपी राख्न सरकारले सशस्त्र प्रहरी बललाई १५ रोपनी जग्गामा समेत दिएको छ । लिपुलेक, टिंकर भज्याङ र कालापानी क्षेत्र यही गाउँपालिकामा पर्छ ।