काठमाडौं । मौसम प्रतिकूल बनेर जहाज उड्न नपाएपछि सोलुखुम्बुको लुक्लामा ३ सय भन्दा बढी पर्यटक अलपत्र परेका छन् ।
वायुसेवा संचालक संघ नेपाल (आयोन)का प्रवक्ता योगराज कँडेल शर्माका अनुसार मंगलबार पर्यटक लिएर लुक्लाबाट काठमाडौं उडेका हेलिकोप्टरसमेत काठमाडौंको मौसम प्रतिकुल बनेपछि बाटोमै अलपत्र परेका छन् ।
मंगलबार बिहानै लुक्लाको मौसम केही खुलेपछि ११ हेलिकोप्टरले काठमाडौंका लागि उडान भरेका थिए । त्यसमध्ये २ वटा मात्र काठमाडौं आउन सकेका छन् ।
अरु भने सोलुखुम्बुको बासा, सिन्धुली र काभ्रेमा आइ आकस्मिक अवतरण गरी बसेका छन् । काभ्रेको धान खेत मै हेलिकोप्टरहरु अवतरण गर्नु परेको थियो ।
आयोनका अनुसार सिम्रिक एयरका तीन हेलिकोप्टरमध्ये काभ्रेको खरिखोलामा १ र बनेपामा २ हेलिकोप्टर रोकिएका छन् । अल्टिच्यूड एयरको एक हेलिकोप्टर काभ्रेकै रोसीखोलामा रोकिएको छ ।
कैलाश होलिकोप्टरकोएउटा हेलिकोप्टर धुलिखेलमा रोकिएको छ भने श्री एयरको एक हेलिकोप्टर रामेछापमा आएपछि रोकिएको थियो ।
मनाङ एयरको एक हेलिकोप्टर सोलुको बासामा रोकिएको छ । फिस्टेल एयरको जहाज पनि बासा मै रोकिएको छ ।
यी हेलिकोप्टरले लुक्लामा अलपत्र बोकेका पर्यटक बोकेर ल्याएका थिए । मौसम नखुलेपछि लुक्लामा करीव एक सातादेखि पर्यटक अलपत्र परेका छन् । अब क्रमशः पर्यटक मौसम शुरु भएको छ ।
यस मौसममा सगरमाथा आधार शिविरको पदयात्रामा हजारौं पर्यटक पुग्ने गर्छन । लुक्ला सगरमाथा पदयात्रामा जानेहरुको पहिलो ढोका हो ।
मंगलबारको अविरल वर्षाले हवाई सेवा नराम्रोसँग प्रभावित भयो । दिनभरजसो नै काठमाडौं विमानस्थलमा अवतरण प्रभावित भइरह्यो । आन्तरिक उडानमा पनि दिनभर समस्या थियो ।
कम भिजिविलिटीका कारण जहाजहरु अवतरणमा समस्या भएको काठमाडौं विमानस्थलले जानकारी गराएको छ ।