लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । सोलुखुम्बुको लुक्ला नजिकै सडक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को शनिबार उद्घाटन गरेका छन् । उनले सो सडक कालोपत्रे छिट्टै हुने समेत बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुगेका प्रधामन्त्री ओलीले तेन्जिङ हिलारी विमानस्थल लुक्लाले सहज बनाएको खुम्बुको पर्यटन व्यवसाय अहिले सञ्चालनमा आएको सडकले थप सहज भएको उल्लेख गरे । तेन्जिङ नोर्गे शेर्पा, पासाङल्हामु शेर्पालगायत ३० औं पटक सगरमाथाको आरोहण गर्ने साहसीको जिल्ला भएको भन्दै उनले अब यस क्षेत्रको विकास र प्रगति हुने विश्वास विश्वास व्यक्त गरे ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूती तथा प्रथम नेपाली सगरमाथा आरोही पासाङल्हामु शेर्पाको घर समेत अवलोकन गरे ।

प्रधामन्त्री ओलीले भने, ‘‘हिउँ विश्वका धेरै स्थानमा पर्छ तर हिमालको हिउँले प्राकृतिक सन्तुलन कायम राख्नबेग्लै महत्त्व राख्दछ ।’’ आगलागी तथा विभिन्न मानवीय गतिविधिले हुने प्रदूषणका कारण हिमाल सङ्कटमा पर्दै गएको भन्दै यसलाई रोक्न विश्व समुदायसँग समेत आफूले हरेक फोरममा कुरा उठाउने गरेको उनको भनाइ छ ।

विश्वलाई शीतलता प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुःखद भएको भन्दै सबै संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । उनले विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको विश्वको सर्वोच्च शिखर रहेको खुम्बु क्षेत्रको विकासमा नेपाल सरकार लागि पर्ने बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि खुम्बु पासाङल्हामु वडा नं १ खरिखोलाबाट वडा नं. २ सुर्केसम्म ट्रयाक खन्न सुरु भएको २५ किलोमिटर सडक करिब १६ करोड रुपियाँको लागतमा निर्माण भएको हो । पर्यटकीय पदमार्ग सञ्चालनमा आएको हो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ ।


थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ । जसमा ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ ।

खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक छ करोड १४ लाख रुपियाँको लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरेको हो । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्के रहेको छ । बाटो खुलेसँगै अहिले दैनिक बस, सुमो र बलेरोले यात्रुलाई लुक्लामुनिको सुर्केसम्म पुर्‍याउने गरेका छन् । सुर्केबाट लुक्ला विमानस्थल एक घण्टाको पैदल दूरीमा पर्छ ।