बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले सपथ लिएका छन् । बिहीबार माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीले आजै प्रदेश प्रमुखसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा मूख्यमन्त्री बनाइएको हो । केसी रोल्पाको निर्वाचन क्षेत्र १ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०४६ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका नेता हुन् । माओवादी युद्ध लडेका उनी जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म भएका थिए ।
मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका डिल्ली चौधरीलाई सहरी तथा ग्रामीण विकास मन्त्रीमा र माओवादीका कृष्णध्वज खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको छ । जसपाका सहसराज यादव भौतिक पूर्वाधार मन्त्रीमा तथा पुर्मती डेंगा र सुमन शर्मा रायमाझी विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् । अजय शाही समेत विना विभागीय मन्त्री बनेका छन् ।