बुटवल । लुम्बिनीमा लामो समयदेखिको सत्ता परिवर्तनको रस्साकसीको आज निर्णायक दिन हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ मा तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका हुन् । उनीविरुद्ध यसअघि वैशाख ६ र २६ मा समेत अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट राजिनामा दिएका पोखरेलले एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा सपथ लिएका थिए ।
सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्ती दिएका थिए । वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान नगरेपछि यस प्रस्तावमा प्रक्रिया नै अगाडी बढेको थिएन ।
लुम्बिनीमा सत्तारुढ दल एमालेसँग ३८ सीट छ । बहुमत पुर्याउन भने ४१ सांसदको समर्थन चाहिन्छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत चाहिन्छ । विपक्षी दलमा एकता कायम रहेमा शंकर पोखरेलको कुर्सी ढल्छ । उता पोखरेल भने पुनः अविश्वासको प्रस्ताव भोग्नु भन्दा राजिनामा दिने तयारीमा छन् ।