बुटवल । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै भएका छन् । त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई बिहीबार दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्नेछन् ।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् । कांग्रेस र माओवादीबीच आठ(आठ महिना सरकारको नेतृत्व गर्ने सहमति समेत भएको छ । सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सोही अनुसार बुधबार प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल शुरु नहुँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।