काठमाडौं । लेखक बुद्धिसागरले उपन्यास कृति ‘एक्लो’ लोकार्पण गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे । लेखक बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गरे । लेखकले कथा कल्पँदा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनूभूति पाउने उनको भनाई छ । ‘यो लेनदेन चलिरहन्छ र मेरा लागि यो संसारकै मीठो लेनदेन हो, यो चलिरहोस्’, उनले भने ।
कैलालीमा जन्मिएका बुद्धिसागर २०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम आयोवा का मानार्थ फेलो उनको उपन्यास कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ। उनका ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता प्रकाशित छन्। ‘एक्लो’ उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो।