काठमाडौं । वरिष्ठ लोक गायक तथा दिग्गज कलाकार जयनन्द लामाको निधन भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा भएको हो । उनी राती भोजमा सहभागी भई घर आएका थिए । सो क्रममा उनी गाडीबाट झर्ने बेला लडेको समेत समाचारमा उल्लेख छ । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीत गाएका छन् ।