काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन(पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्नेमा जोड दिएकी छिन् । सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरिन् । पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रिया दीगो बनाउन पूर्वजले अपनाएको पोखरी खन्ने र संरक्षण गर्ने उपायलाई नयाँ अभियानका साथ सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।
“हरेक सामुदायिक वनले कम्तीमा एउटा पोखरी निर्माण गर्ने अभियान चलाएर सम्भाव्यता अनुसार कतिपय स्थानमा माछापालन लगायतका व्यवसाय गर्न सकिनेतर्फ पनि म यहाँहरुको ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भनिन् । उनले प्रकृति र मानिसबीचको पारस्परिक निर्भरताका कारण व्यक्ति, समुदाय र राष्ट्रकै समृद्धिका लागि वनजंल अति महत्त्वपूर्ण प्राकृतिक श्रोत रहेको बताइन् ।
नागरिकको स्वस्फूर्तरुपमा सिन्धुपाल्चोकबाट सुरु भएको सामुदायिक वनको अभ्यास देशव्यापीरुपमा सफलतापूर्वक लागू भएको र यो अन्तर्राष्ट्रिय जगतमा समेत स्थापित हुनु नेपालका लागि गौरवको विषय भएको उनले बताइन् । वातावरणको दीगो व्यवस्थापन गर्दै मानवीय आवश्यकता र प्रकृतिको स्वभाविक गतिका बीचमा सन्तुलन कायम हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले यसबाट आर्थिक वृद्धिको बाटो पहिल्याउनु हरित अर्थतन्त्र भएको उनको भनाई छ ।