सुपेन्द्र बस्नेत, बोष्टन
जन्म, जीवन र मृत्युवरण प्रकृतिको नियम हो। जब जो कोही प्राणी वा बनस्पतिले जन्म लिन्छ, तब उसले जीवन हुदै मृत्युको बिन्दुसम्म पुगेर जीवनको चक्र पुरा गरेकै हुन्छ। जो शाश्वत सत्य हो। प्राणी जगतमा मानवलाई सबैभन्दा विवेकशील तथा चेतनशील गुण भएको प्राणी मानिन्छ। जसले जीउने क्रममा प्राप्त गरेको सैध्दान्तिक र व्यवहारिक ज्ञान, शिक्षा, दिक्षा र सीपको उच्चतम उपयोग गरेर आफ्नो र अरुको पनि जीवन आनन्दमय बनाउन सक्दछ भन्ने मान्यता विभिन्न कालखण्डका विद्वान तथा दार्शनिकहरुले स्थापित गरिदएका छन्। तर, यो कुरा आमा मानिसका लागि भने अव्यवहारिक मान्यता र सैदान्तिक दर्शन मात्र भएको छ। विभिन्न दार्शनिकहरुका अनुसार जीवन बुझ्न त्यति सजिलो पक्कै छैन। जो कोहीले बुझ्न पनि सक्दैन। समयमा नै बुझ्न सक्यो र सही पाथ पहिल्याउन सक्यो भने आनन्द प्राप्ति सहज छ। जबसम्म जीवन बुझिदैन, तबसम्म आनन्दको बाटो पहिल्याउन नै सकिदैन। अनि आनन्दमय जीवनको खोजी गर्दा गर्दै जीवनचक्र सामाप्त हुन पुग्दछ। विद्वानहरुका अनुसार जीवनका सुख र दु:ख दुइ पाटाहरु हुन्छन्। जसको स्वरुप भौतिक अर्थात शारीरिक र अभौतिक अर्थात मानसिक हुन्छ। अधिकांश मानिसले आनन्दमय जीवन जिउनका खातिर भौतिक पाटोमा आफूलाई बढी केन्द्रीकृत गरिरहेका हुन्छन्। र, मानसिक पाटो ओझेलमा परिरहेको हुन्छ। जसका कारण उसको जीवन दु:खको भुमरीमा रुमल्लिरहन्छ। यसो हुनुमा विभिन्न आन्तरिक र वाह्य कारक तत्वहरुको प्रभाव हुन सक्छ।
भगवान गौतम बुद्धले जीवनलाई दर्शाउन चार आर्य सत्य बताएका छन्। उनका अनुसार संसार दुःखमय छ, दु:ख हुनुको कारणहरु छन्, दु:खबाट पार पाउने उपायहरु पनि छन् र दु:खबाट पार पाउने मार्गहरु पनि छन्। उनका अनुसार दु:खबाट पार पाउन मानिसले जीवनमा आठ पद्धतिहरु सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक, सम्यक कर्मांत, सम्यक आजीव, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिलाई अवलम्बन गर्नु पर्दछ। बौध्द दर्शनका अनुसार जीवन दु:खदपूर्ण छ। जीवन भनेको दु:ख हो भन्ने कुरा बुझ्न जरुरी छ। त्यही सत्य ज्ञान नभएका कारण मानिस भौतिक सुख प्राप्तिका लागि अनेक खाले प्रपञ्च, संघर्ष, जोखिम, लोभ, लालच, अपराध आदि इत्यादिको भुमरीमा रुमलिन पुग्छ। र, अन्तत्वगत्वा: उसको दुखान्त अन्त्य हुन्छ। त्यसैले, मानिसले समग्र दु:खमय जीवनबाट मुक्ति पाउन बाह्य भौतिक दु:ख मात्र नभएर आन्तरक मानसिक दु:खबाट पनि मुक्ति पाउनु अपरिहार्य छ।
जीवन दर्शनका सन्दर्भमा दार्शनिक रजनिस ओशोले भनेका छन्, ‘जन्म त पाइन्छ। तर, जीवनलाई भने खोज्नु पर्दछ। जीवनलाई खोजी गर्नु एउटा कला हो। यसको अर्थ जिउनु अर्थात भोग्नुमा हुन्छ। यसको कुनै परिभाषा हुदैन। भोगाइको के परिभाषा हुनु। यो यसै हुन्छ। त्यसै हुन्छ। जे छ, हुन्छ र हुनेछ। त्यो नै सार्थकता हो।’
रजनिसले जीवनलाई सार्थक बनाउन जिउने सही कलालाई सक्दो उपयोग गर्नु पर्ने जिकीर गरेका छन्। जिउने कलाले जीवनलाई कसी नलगाए, जीवन व्यर्थ हुन्छ भन्ने उनको तर्क छ।
यस्तै, जीवनका सन्दर्भमा वैज्ञानिक स्टीफन हकिङको बुझाइ अनुसार जन्म र मृत्युबिचको समय नै जीवन हो। त्यो जीवन पनि कति सार्थक रह्यो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ। उनले भनेका छन्, ‘ मृत्यु त निश्चित छ। तर,
जन्म र मृत्युबिच कसरी जिउने त्यो हामीमा निर्भर हुन्छ।’उनका अनुसार समर्पणको जीवन नै सार्थक जीवन हो।
जीवनलाई विभिन्न धार्मिक ग्रन्थहरुले पनि आआफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ। यद्यपि, सबैको सार भने एउटै छ। हिन्दू धर्मग्रन्थ श्रीमद भगवत गीताले जीवनलाई सरल र स्पष्ट ढंगबाट परिभाषित गरेको छ। गीताको सारमा भनिएको छ कि, ‘परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ।
मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ति रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।’
यि र यस्ता धेरै जीवनका बारेमा गरिएका चर्चित व्याख्या र परिभाषाहरुको सार भनेको सार्थक जीवन जिउनका लागि भौतिक सुख प्राप्तिमा नभइ, मानसिक सुख प्रातिमा केन्द्रीकृत हुनु अपरिहार्य छ। जो त्याग र समर्पणमा आधारित छ। जसले जति भौतिक सुखका कारक तत्वहरुप्रतिको आसक्ति घटाउदै ध्यानको माध्यमबाट मानसिक सुखका तत्वज्ञान प्राप्त गर्दै जान्छ, उसले उति नै सुखानुभूति र आनन्दानुभूति प्राप्त गर्दछ। जो सार्थक जीवनको सूचक हो।
तर, यि माथिका भनाइहरु विविध कारणले गर्दा हिजोआज केबल भन्ने-भनाउने, पढ्ने-पढाउने, लेख्ने-लेखाउने कुरा जस्तो मात्र भइरहेको छ। यो सत्य तथ्य थाहा हुँदा हुदै पनि मानिस यो सत्मार्गबाट दिन प्रतिदिन बिचल्लित हुदैछ र जीवन झन झन दु:ख पिडाको जटिलतातिर धकेलिदैछ। शिक्षा, ज्ञान, ध्यान, धन, सम्पत्ति, शक्ति, सामाजिक हैसियत, पद प्रतिष्ठा, जीवन शैली आदि इत्यादिका कारण बाहिरबाट हेर्दा र सुन्दा ‘वा…वा…’ जस्तो लाग्ने व्यक्तिहरुको जीवनको भित्रि पाटो निकै कहाली लाग्दो र दर्दनाक बन्दै गइरहेको छ। यसको प्रतिनिधि पात्रहरुको पङ्तिमा स्वर्गीय कृष्ण लामिछाने दाइ पनि उभिनु भएको छ। उहाँको जीवन र मृत्यु वरणको घटनाले दुनियाँलाई आश्चर्यचकित मात्र पारेको छैन कि, जिब्रो काट्दै जीवनका बारेमा घोत्लिएर चिन्तन मनन गर्न बाध्य पारिदिएको छ। त्यति मात्र नभएर यस घटनाले दुनियालाई स्तब्ध पार्दै वर्तमान समाजको भित्री पाटोको यथार्थ अवस्थालाई पनि उजागर गरिदिएको छ। भौतिक पिडा भन्दा मानसिक पिडा कयौं गुणा पिडादायी र निर्मम हुन्छ भन्ने कुरा यस घटनाबाट बुझ्न कठिन छैन। स्वर्गीय कृष्ण दाइले यस लोक त्याग गरेर परलोक प्रस्थान गर्नुको जे सुकै कारण भएतापनि, बुझ्न चाहने र चिन्तन मनन गर्न चाहनेहरुका लागि मर्मस्पर्शी सन्देशसहितको अमूल्य पाठ छाडेर जानु भएको छ।

यस कलियुगका सांसारिक मोहमा अल्झिएका र भौतिक सुखमा बल्झिएका मानिसहरु बिषम परिस्थितिबाट जिन्दगी गुजारिरहनु परेको भएतापनि, कसै न कसैको आशा वा आड भरोसा वा माया ममताका कारण मृत्युको बाटो रोच्दैन/रोज्न सक्दैन। यदि कथन कदाचित विविध कारणले मृत्युको बाटो रोजेर मुखैमा पुगिसकेको छ भने पनि, आशा वा आड भरोसा वा माया ममता दिलाउनेलाई स्मरण गरेर फर्कन बाध्य हुन्छ। भलै चुनौती र दु:ख कष्टको भूमरीमा फेरी ऊ रुमलिन किन नपरोस्। त्यो आशा वा आड भरोस वा माया ममता दिने, जीवन साथी वा सन्तान वा माता पिता वा गुरु वा परिवारका अन्य सदस्यहरु वा साथी संगी वा समाज वा देश वा जनता वा जिवात्मा वा आदि इत्यादि जो कोही हुन सक्छ। जब उसले कसैको(कुनै एक) पनि आशा वा आड भरोसा वा माया ममता पाउन नसकेको र नसक्ने निर्क्योल गर्दछ, तब बाच्ने आधारै नभेटेर मृत्युको बाटो रोज्न पुग्दछ। सायद यस्तै अवस्थाबाट स्वर्गीय कृष्ण लामिछाने दाइले पनि गुज्रिनु पर्यो कि भन्ने लागिरहेको छ। विडम्बना ! उहाँको मृत्यु पश्चात् शोकमा डुबेका यति ठूलो जमात मध्ये कुनै एक व्यक्ति पनि उहाँलाई मृत्यु वरण गर्ने अन्तिम निर्णयबाट रोकेर फर्काउन सक्ने आशा वा आड भरोसा वा माया ममता भएको व्यक्तित्व रहेनछ। नत्र उहाँ मृत्युको मुखमा पुगेकै भएपनि सम्झिएर अवश्य फर्किनु हुन्थ्यो।
जीवन छदा मानिसको व्यक्तित्वले पारेको प्रभाव र मृत्यु पश्चात् उसको अभावले पार्ने प्रभावको मात्राका आधारमा उसलाई स्मरण गर्ने गरिन्छ। स्वर्गवासी लामिछाने दाइसंगको मेरो चिनजान धेरै पुरानो त छैन। तर, जे छ त्यो अमुल्य, चीर स्मरणीय र कदरयोग्य छ। दुइ वर्ष अगाडि एनआरएनए(NRNA)को निर्वाचनको दौरानमा उहाँ अध्यक्षको प्रत्याशी हुनुहुन्थ्यो। यसै दौरानमा हामीबीच आत्मीय सम्बन्ध स्थापित भएको थियो। समाचार लेख्ने, अन्तर्वार्ता लिने र प्रेसविज्ञप्ति सार्वजनिक गर्ने क्रममा र निर्वाचन पश्चात भएका अमूल्य भलाकुसारीहरु आज झल्झली यादिदै छु। हालसालै पनि समाचार लेख्नका लागि सम्पर्क गर्ने योजनामा थिएँ। तर, दुर्भाग्य मेरो ! सदाका लागि मेरो चाहना अधुरै रह्यो। उहाँ एक मृदुभाषी, भद्र, स्पष्ट वक्ता, सक्रिय सामाजिक अभियान्ता, सहयोगी, सकारात्मक सोचका धनी, परोपकारी जस्ता छवि भएको व्यक्तित्व रहेको भन्ने ममा छाप पर्न गएको छ। यतिबेला, अप्रत्याशित रुपमा उहाँको मृत्युको खबरले सारालाई स्तब्ध पारिरहेको छ। र, म पनि त्यसबाट अछुतो छुइन नै। उहाँको भौतिक शरीरले यस लोकलाई छोडेर परलोकको भोगचलनका लागि महाप्रस्थान गरेको दु:खद घडिमा अन्यथा अरु केही नसोची, उहाँका सत्गुणी व्यक्तिको स्मरण गर्दै उहाँको आत्मालाई चीर शान्ति मिलोस् भनी भगवानसंग प्रार्थना गर्दछु। र, श्रध्दाका यिनै शब्दहरुको साहारा लिदै हृदयदेखि नै हार्दिक श्रध्दासुमन अर्पण गर्दछु। साथै, साँचो अर्थमा शोकमा डुबेका परिवारका सदस्यहरु तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु।