काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको बजेटमा भारी कटौती गरेको छ । वार्षिक १२ लाख पर्यटक आइरहेको नेपालमा बोर्डले चालु आर्थिक वर्षमा २ लाख ६ हजार मात्र पर्यटक आउन सक्ने अनुमान गरेको छ । यद्दपी चालु आवको पहिलो दुई महिना भने पर्यटक आगमन शून्य हुनेछ । किनकी साउन सकिन अब केही दिन मात्र बाँकि छ ।
भदौको १६ सम्म पनि नेपालमा पर्यटक आउन सक्ने छैनन् । सरकारले त्यसपछि पनि कम्तिमा ७ दिन क्वारेन्टिनमा बस्ने गरी पर्यटकलाई नेपाल आगमनको अनुमति दिने तयारी गरेको छ । पर्यटक र गैरवाआसिय नेपाली न्यूनतम ७ दिन क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गर्ने र त्यसपछि मात्र घुमघाममा निस्कने गरी अनुमति पाउनेछन् ।
बोर्डले यो वर्ष ८२ करोड रुपैयाको बजेट बनाएको छ । गत वर्ष बोर्डको बजेट १ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो पर्यटक नआउँदा बोर्डको आम्दानी पनि घट्यो । यो वर्ष बोर्डले पूर्वाधार निर्माणका काममा बजेट राखेको छैन । मेलापर्वमा बाड्ने रकम पनि काटिएको छ । अब अनिवार्य दायित्व, अध्ययन अनुसन्धान र बजारिकरणलाई प्राथमिकता दिएर बजेट ल्याइएको बोर्डको भनाई छ ।