काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को वाम अप खेलमा नेपाल र अमेरिका भिड्ने तयारी गर्दै गर्दा भारी वर्षाले खेल रोकिएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरीमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेको छ। खेल सुरु हुनु भन्दा २० मिनेटअघि मैदानमा भारी वर्षा भएको छ। जसका कारण पिच कभर गरिएको छ।
आइसिसी टी–२० विश्वकपको उद्घाटनअघि नेपालका लागि यो अन्तिम तयारी खेल हो । विगत एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको नेपालले टेक्सासको ह्युस्टन र वेस्ट इन्डिज इन्डिजको सेन्ट भिसेन्टमा स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो। जसमा नेपालले ६ मध्ये ४ खेलमा जित निकालेको थियो।
तर टी(२० विश्वकप उद्घाटनअघि आइसिसीको तालिकामा खेलेको पहिलो वार्मअप खेल नेपालका लागि खराब रह्यो। स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीबिना क्यानडाविरूद्ध खेलेको नेपाल कमजोर ब्याटिङ गर्दा ६३ रनले पराजित भएको थियो। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आज राति हुने खेललाई नेपालको अन्तिम तयारीको रुपमा लिएका छन्।
अमेरिकाले वाम अपका खेलअघि टेस्ट टोली बंगलादेश विरूद्धको तीन खेलको टी–२० सिरिज २–१ ले जितेको थियो। घरेलु मैदानमा ठूला टोलीलाई स्तब्ध पार्ने लक्ष्य लिएको अमेरिकासँग अभ्यास खेल खेल्दा नेपालले फाइदा लिने लक्ष्य बनाएको छ।
नेपालले अमेरिकासँग खेलेको पाँच दिनपछि यही मैदानमा यो विश्वकपको आफ्नो पहिलो खेल खेल्नेछ। समूह ‘डी’ मा रहेको नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ खेल्नेछ। त्यसपछि नेपालले जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। नेपालको बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।