काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई उच्चस्तरीय संयन्त्र बनाएर समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको जानकारी दिए । उनले निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्रीलाई बैंकको कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएको, बैंकको उच्च ब्याजदरका कारण तरलतामा देखिएका प्रमुख समस्या समाधान सरकारले गर्नुपर्ने जानकारी गराएको बताए ।
अध्यक्ष गोल्छाले बैंकहरूले ऋण दिएको समय र अहिलेको आर्थिक परिदृश्य फरक भइसकेको भन्दै ऋणले कर्जा तिर्न नसक्ने अवस्था रहेकाले कर्जा तिर्नै नसक्नेहरूकाको हकमा राष्ट्र बैंकले व्यवसायीको माग सम्बोधन गर्ने जानकारी गराएको पनि बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देश आर्थिक रूपमा जटिल अवस्थामा रहेकाले बैंकको वेसरेट नै हटाउन आग्रह गरेको बताए । उनले बैंकहरूले व्यवसायीहरूलाई प्रवाह गरेको कर्जामा तीन महिनामा हुने ब्याजदर र प्रिमियम बढ्न नहुने माग राखेको बताए ।