विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

Photo : NBA

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को शुरुवातबाटै घट्न थालेको रेमिट्यान्स तेस्रो महिना सम्म पनि सोही प्रवृत्ति दोहोरिएको छ । चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रकम ७.६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा करिब २ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष रेमिट्यान्स १२.७ प्रतिशत बढेको थियो । गत साउन देखि नै रेमिट्यान्स ओरालो लागेको हो । साउनमा १८.१ प्रतिशत र भदौमा ६.३ प्रतिशत कम भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको तथ्यांक छ । चाडबाडको मौसममा विदेशबाट बढी रेमिट्यान्स आउँछ ।

तर, यो वर्ष चाडबाडमै घटेपछि भने चिन्ता थपिएको हो । गत आवमा कोभिडको जोखिमका वावजुत पनि धेरै रकम आएको थियो । धेरै नेपाली काम गर्ने जाने प्रमुख राष्ट्रको अर्थतन्त्रमा लयमा फर्किएको भए पनि त्यसको प्रभाव नेपालीले पाउने रकममा नदेखिएको तथ्यांक छ । त्यसो त नेपालमा हुन्डीजस्ता कारोबारका अनौपचारिक च्यानल समेत रहेकाले औपचारिक च्यानलमा रकम देखिने गरेको छ ।

रेमिट्यान्स घटेपनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको छ । असोजसम्म ६६ हजार ३ सय १६ नेपालीले यस्तो सवीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशत घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या असोजसम्म ३४ हजार ८ सय २३ पुगेको छ ।