काठमाडौं । अब विदेशबाट नेपाल आउने सबै व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा यस्तो प्रस्ताव पठाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिएको छ । क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने छ ।
त्यसो त विदेशबाट नेपाल आउने नेपालीले पिसिआर रिर्पोट नेगेटिभ देखाएपछि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान अहिले पनि छ । तर, कार्यान्वयन भएको छैन । पर्यटकलाई ७ दिन होटेल क्वारेन्टिनमा राखेर आफ्नै खर्चमा पिसिआर परीक्षण गरेपछि मात्र घुमफिरको अनुमति दिइन्छ ।
अब भने पर्यटक, गैरआवासीय नेपाली र नेपाली नागरिकले समेत अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने गरी मन्त्रालयले प्रस्ताव गरेको छ ।
पछिल्लो समय यूरोप र अमेरिकामा बढ्दो संक्रमणलाई लक्षित गरी सरकारले विदेशबाट आउनेमाथि कडाइ गर्न लागेको हो । नेपालमा भने केही दिनयता संक्रमण तुलनात्मक रुपमा कम देखिएको छ । निको हुनेको संख्या उल्लेख्य बढेको छ ।