काठमाडौं । देशभर विदेशबाट फर्किएका नागरिकको विवरण संकलन शुरु भएको छ । यसमा स्थानीय प्रशासनले सक्रियता लिएका छन् ।
काठमाडौं महानगरपालिकाले हालै विदेशबाट फर्किएका सबै नागरिकको विवरण संकलन शुरु गरिएको बताएको छ ।
उपत्यका बाहिर पनि हरेक जसो स्थानीय तहले विदेशबाट फर्किएका नागरिकको विवरण खोजिरहेका छन् ।
नेपालमा विदेशबाट फर्किएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । तर, उनीहरुसँगै आएका अन्य नागरिकको खोजीमा सरकारलाई हम्मेहम्मे परेपछि यसमा स्थानीय सरकारले सक्रियता जनाएका हुन् ।
अब पछिल्ला दिनमा विदेशबाट आएका सबै नागरिकको विवरण राखेपछि उनीहरुको यात्रा विवरण समेत पत्ता लगाउन सजिलो हुनेछ ।
साथै क्वारेन्टाइनमा बसे नबसेको समेत पत्ता लाग्नेछ । नेपालमा अहिलेसम्म तीन जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये एक जना निको भएर घर फर्किएका छन् । दुई जना उपचारार्थ भर्ना भएका छन् ।