विदेशबाट फर्किएका युवालाई माओवादीले तीन महिने अभियानमा जोड्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो। विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताएका छन् ।

रिटर्नी सेन्टरको इन्चार्जको जिम्मेवारी पाएका लक्ष्मणदत्त पन्तले बिहीबार आफ्नो कार्यभार सम्हालेका छन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका पन्तले सम्बोधन गर्दै रिटर्नी सेन्टर महत्वपूर्ण भ्रातृ सङ्गठन भएकाले विदेशबाट फर्किएका युवालाई एकताबद्ध गरी देश निर्माणमा अभिप्रेरित गरिने बताए ।

“यो वर्ष मात्रै आठ लाख युवा बिदेसिनुप(यो। यसरी नै विदेश जान थाले देशै रित्तिने खतरा भयो,” उनले भने, “अब देशमै बस्ने वातावरण बनाएर उद्यमशील बनाउन अभियान चलाउनुपर्ने देखियो।” रिटर्नी सेन्टरले अभियान चलाएर स्वदेशमै आशा जगाउन अभिप्रेरित गरेमा विश्वका कुनकुनमा पुगेका नेपाली आफ्नो जन्मभूमि फर्किने उनले बताए ।