काठमाडौं । विदेशमा बस्ने नेपालीले पछिल्लो ६ महिनामा करीव ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यसअवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले वृद्धि भएको छ ।
कोरोनाको त्रास हुनु अगाडिको अवस्था भन्दा रेमिट्यान्समा सुधार आएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने ह्वात्तै घटेको छ । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।