काठमाडौं । विदेशमा काम गर्न गएका नेपालीहरुको नेपाल फर्कने संख्यालाई मध्यनजर गर्दै विदेशमा उडान संख्या बढाउन विभिन्न मुलुकका राजदूतले सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा नेपालीहरु अलपत्र छन् ।
उनीहरुलाई घर फर्काउन उद्धार तथा नियमित उडानको संख्या बढाउनु पर्ने सुझाव राजदूतहरुले दिएका छन् । लकडाउनपछि नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपाली घर फर्कने पालो कुरेर बसेका छन् ।
सोमबार व्यवस्थापिका संसद, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजदूतहरुसँग भर्चुअल बैठक गरेको छ । छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारको अवस्थाका विषयमा समेत जानकारी गराएका थिए ।
उक्त अवसरमा मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजार फर्कन पालो कुरेको जानकारी गराए ।
स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको तथ्यांक उनले दिएका छन् । उनले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताए । उनले निर्देशिका व्यवहारिक बनाउन सुझाव दिए ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अहिलेसम्म करिब १४ सय मानिसलाई घर फर्काएको भन्दै घर फर्कन चाहनेको संख्या ठूलो रहेको उल्लेख गरिन् । उनले पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको जानकारी दिइन् ।
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेको जानकारी गराउँदै कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्कन नाम दर्ता गराएको उल्लेख गरे । उनका अनुसार कुवेतबाट ५४ सय जना नेपाली स्वदेश फर्किइसकेका छन् ।
कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदार बढी समस्यामा रहेको उल्लेख गरे । उनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या अझ जटिल हुने चेतावनी समेत दिए ।
दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाडको समयमा फर्किन चाहनेहरु समेत समस्यामा पर्ने जानकारी उनले दिए । साउदी अरेबियाको लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएकोजानकारी दिए ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णयअनुसार चार्टर्ड उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको जानकारी दिए ।