विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने

Photo : economictimes

काठमाडौं । सरकारले नेपालको पैसा विदेशिएको भन्दै नेपाल तथा विदेशमा सबै कुनै पनि नेपाली नागरिकले क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने नियम कार्यान्वयनमा ल्याएको छ । अब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशी नागरिकले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको स्पष्ट पारेको छ ।

छोटो अवधिमा उच्च प्रतिफलको लोभमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी गर्ने र जोसियन, क्राउड वान, सोलम्यास ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आबद्ध हुन प्रोत्साहन गर्ने, गराउन गरेको जानकारी प्राप्त भएकाले राष्ट्र बैंकको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ । ‘नेपालमा विदेशी मुद्राका रूपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा त्यस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने र स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकको भनाई छ ।

निर्देशनमा भनिएको छ, ‘यसकारण त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले समेत त्यस्तो कार्य गरे गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैका लागि जानकारी गराइन्छ ।’

विदेशमा बस्ने नेपाली क्रिप्टोकरेन्सीलगायत गैरकानुनी काममा आबद्ध भएको सूचना राष्ट्र बैंकलाई प्राप्त भएसँगै यस्तो सूचना जारी गरिएको हो । उक्त कारोबारबाट कमाएको धन समेत नेपालमा अवैधानिक मानिन्छ । यसअघि राष्ट्र बैंकले गत भदौमा निर्देशन जारी गरेर नेपालमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङ जस्ता कार्य नगर्न, नगराउन निर्देशन दिएको थियो ।