विदेशमा बेखर्ची नेपालीलाई सरकारी पैसामा उद्दार गरिदै

काठमाडौं । लकडाउन र अन्तराष्ट्रिय उडानमाथिको प्रतिवन्धपछि उद्दार उडानका दौरान करीव ३० हजार हाराहारी नेपाली घर फर्किसकेका छन् । अहिलेसम्म फर्किएका नेपालीको घर फिर्तिमा सरकारको रकम खर्च भएको छैन । केवल व्यवस्थापन मात्र सरकारले गरेको हो । अब भने विदेशमा बेखर्ची बनेर अलपत्र नेपालीको सरकारले आफ्नै खर्चमा उद्दार गर्ने भएको छ ।

कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट पारित भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसारयस्तो सुविधा वैदेशिक रोजगारीमा गई अलपत्र परेका नेपालीले पाउने भएका हुन् । कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय भएको उनले जानकारी दिए ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर हाल अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने भएको हो । अध्ययन, भ्रमण तथा अन्य कामको सिलसिलामा अलपत्र परेका नेपाली भने आफ्नै खर्चमा स्वदेश फर्कनु पर्छ । अहिले भइरहेको उद्दार सोही प्रकारको हो ।

यसअघि सरकारले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किन चाहने नेपाली नागरिकले आफैंले हवाइजहाजको टिकट खरिद गर्नुपर्ने निर्णय यसअघि गरेको थियो । त्यसका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा अप्ठेरोमा परेकालाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

सोहीअनुसर सरकारले निर्देशिका बनाएको हो । सरकारबाट श्रम स्वीकृति लिएर गएकाहरूलाई मात्रै निर्देशिकाले तोकेका सुविधाहरू प्राप्त हुने बताइएको छ । बिरामी, सुत्केरी, अशक्त, रोजगारी गुमाएका, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका, काजकिरियाका लागि आउनुपर्नेलगायतका संवेदनशील अवस्थाका कामदारको सरकारले निःशुल्क उद्धार गरिने भएको छ ।