विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले विदेशमा बेखर्ची भई वा जेलमुक्त भई नेपाल फर्किएका नेपालीको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले जेलमुक्त र्भइ फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भई फर्केका नागरिक क्वारेन्टिनमा बस्दा लाग्ने खर्च बेहोर्ने भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार क्वारेन्टिनका लागि आवश्यक प्रबन्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउने छ । आवश्यक रकम भने अर्थ मन्त्रालयले निकासा गर्ने छ ।

बैठकमा राष्ट्र ऋण पाँचौं संशोधन नियमावली २०७८ र ऋणको प्राथमिक तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गरिएको छ । साथै, विश्वव्यायिक समूहको अन्तर्राष्ट्रिय विकास संस्था मार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरुप प्राप्त हुने अमेरिकी डलर ६० मिलियन बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय समेत आजको बैठकले गरेको उनले जानकारी दिए । बैठकले कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधिभित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका खरिद सम्झौताको म्याद आवश्यकताको आधारमा ६ महिना थप गर्न स्वीकृत प्रदान गरेको छ ।