विदेशमा रहेका नेपालीले चैतसम्म घर पठाए ७ खर्ब २९ अर्ब रेमिट्यान्स

काठमाडौं । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्र मसान्तसम्म ७ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशत बढि हो । महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएपनि विदेशमै रहका नेपालीबाट भने पर्याप्त रेमिट्यान्स भित्रिरहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यस्तो आप्रवाह अघिल्लो वर्ष ४.९ प्रतिशतले घटेको थियो । रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको तथ्यांक छ ।

राष्ट्र बैंकका अनुसार ९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको तथ्यांक आएको छ ।