काठमाडौं । सरकारले विदेशमा रोकिएका नेपाली घरेलु श्रमिकलाई स्वदेश फर्कन सक्ने गरि बाटो खोलेको छ । राम्रो जागिर भएका कारण छाडेर मात्र फर्कनु पर्ने बाध्यता हटाउँदै सरकारले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले घरेलु कामदार जान प्रतिवन्ध लगाएको मुलुकमा २०७४ भन्दा अघिबाट कार्यरत रहेपनि नेपाल फर्किन नसकेका घरेलु कामदारका लागि पुनः श्रम स्वीकृति दिने विशेष व्यवस्था गरेको हो ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले २० चैत २०७३अघि त्यस्ता मुलुकमा काम गर्न गएका घरेलु कामदारहरुलाई नेपाल आएर पुनः श्रम स्वीकृति दिएर जान पाउने व्यवस्था गरेको बताएको छ । यही मितिबाट संसदीय समितिको निर्देशनअनुसार घरेलु कामदार विदेश जान र विदेशेमा कार्यरतहरुलाई नेपाल आएपछि फर्किनका लागि पुनःश्रम स्वीकृति दिन रोकिएको थियो ।
नेपालबाट घरेलु कामदारका रुपमा विशेषगरी महिलाहरु खाडी देशहरुमा जाने गरेका छन् । सरकारले प्रतिवन्ध लगाएपछि धेरै महिला कामदार पुनःश्रम स्वीकृत नपाइँदा राम्रो जागिर गुम्ने भएपछि ५ वर्षदेखि नेपाल फर्किएका छैनन् । मन्त्री स्तरीय निर्णयमार्फत २० चैत २०७३ भन्दा उता विदेशमा गएका महिला श्रमिकलाई नेपाल फर्किमा पुनः श्रम सवीकृति दिने गरी निर्णय भएको छ ।
पुनः श्रम स्वीकृतिका लागि दूतावासले महिला सम्बन्धित रोजगारदाताको घरमा सुरक्षित रहेको ब्यहोराको सिफारिस भने ल्याउनुपर्नेछ ।अब व्यवस्थाले वैधानिक रुपमा विदश गाएका सबै घरेलु महिलाले पुनः श्रम स्वीकृति पाउने भएका छन् ।