विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपालीलाई ठूला र राष्ट्रिय गौरवका आयोजनामा रोजगारी प्रदान गर्न माग गरेको छ । विदेशमा यस्तै प्रकृतिका आयोजनामा श्रम बेचिरहेका नेपाली श्रमिकलाई स्वदेशमै उचित पारिश्रमिकसहित रोजगारीको ग्यारेन्टी गर्न सकिने एनआरएनएको भनाई छ ।

यसका लागि श्रमिकहरुलाई राष्ट्रिय गौरवका आयोजनामा आबद्ध गरेर रोजगारी दिन सकिने सम्भावना रहेको सघंको भनाई छ । हाम्रो सम्मान परियोजनाको संयोजकत्वमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड १९ को सन्दर्भमा गैर आवासीय नेपाली संघको भूमिका’ शीर्षकमा आज आयोजना भएको भर्चुअल कार्यक्रममा एनआरएनएका उपाध्यक्ष डा बद्रि केसीले यस्तो प्रस्ताव गरेका हुन् ।

उनका अनुसार नेपालमा विभिन्न राष्ट्रिय गौरवका आयोजनामा दक्ष कामदारको अभाव छ । भएका कामदार पनि विदेशी छन् । उता, नेपाली कामदार भने यस्तै प्रकृतिका कामका लागि विदेश जान बाध्य छन् । यो बाध्यता हटाउन नेपालीले स्वदेशमै सम्मानजनक रोजगारी पाउनु पर्ने उनले बताए । करिब २८ लाख नेपाली श्रमिक विदेशिएर वार्षिक ८ खर्ब नेपालमा रेमिट्यान्स भित्र्याउँदा करिब ४ खर्ब रकम नेपालबाट विदेशिएको तथ्यांक उनले प्रस्तुत गरे ।

यो रकममा नेपाली श्रमिकलाई व्यवस्थापन गर्न सकिने उनको भनाई छ । विदेशबाट आएका श्रमिकको जुन सीप विदेशमा सिकेर आएको छ, त्यही क्षेत्रमा रोजगारी पाउन निकै कठिन भएको भन्दै सीप पहिचान गरेर लगानी गरी विकास गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार एनआरएनले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एनआरएनए, सरकार र अन्य संघसंस्थाहरूसँग समन्वय गरेर अगाडी बढ्ने योजना रहेको छ ।