काठमाडौं । सरकारले विकास सहायता तथा प्राविधिक मिसनका लागि नेपाल आउने विदेशी नागरिकको श्रम स्वीकृति सहजिकरण गर्ने भएको छ ।
नेपालकै सहयोगको प्रयोजनमा आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
माघ २० मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी विज्ञ, परामर्शदाता, कर्मचारी, स्वयंसेवक तथा कामदारलाई प्रवेशाज्ञा र कार्यसहमति प्रदानमा सहजीकरण गर्ने निर्णय गरेको हो ।
नेपालमा सम्बन्धित मन्त्रालयको सिफारिशमा गृहमन्त्रालयको कार्यसहमति र श्रम विभागबाट श्रम इजाजत लिएर मात्र विदेशीले काम गर्न पाउँछन् ।
त्यसको प्रक्रिया भने झण्झिटिलो हुने गरेको छ । नेपालमा ८० भन्दा बढी मुलुकका विदेशीले काम गर्छन् ।