काठमाडौं । विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो । असार मसान्तसम्म सञ्चिति विदेशी मुद्राबाट ६.९४ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्थ्यो ।
त्यस्तै साउनसम्म सञ्चित रहेको विदेशी मुद्राबाट ९.४ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचकमा सुधार आए पनि विदेशी मुद्राको सञ्चित रकम भने घटेको छ । असारसम्म नौ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा साउनमा १२ करोड डलर घटेर नौ अर्ब ४२ करोड डलर कायम भएको छ । सरकारले वैशाखदेखि विभिन्न १० वटा वस्तुको आयातमा सर्तसहित कडाइ गरेको थियो । यसको प्रभावले आयातको परिमाण घटेको हो । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३१ अर्ब २९ करोड रुपियाँ बराबरको मात्र भएको छ ।
अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा आव २०७९÷८० को साउनमा कुल वस्तु आयात १३ प्रतिशतले घटेको छ । साउनमा निर्यात पनि घटेको छ । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा कुल निर्यातमा २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपियाँ मात्र भएको छ । आयात घट्दा व्यापार घाटा १०.४ प्रतिशतले घटेर एक खर्ब १६ अर्ब रुपियाँ कायम भएको छ ।
आयात घट्दा मुलुकबाट बाहिरिने रकम पनि घटेकाले त्यसको प्रत्यक्ष असर चालू खाता र शोधनान्तर स्थितिमा परेको देखिएको छ । साउनमा चालू खाता घाटा १६ अर्ब २६ करोड रुपियाँ पुगेको छ जब कि गत वर्ष साउनमा यस्तो घाटा ४७ अर्ब २९ करोड रुपियाँ थियो । त्यस्तै शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो साउनमा यस्तो स्थिति ३८ अर्ब ७५ करोड रुपियाँले घाटामा थियो ।