विपक्षी दलले दिन सकेनन् वैकल्पिक सरकार, प्रधानमन्त्रीमा पुनः ओली

काठमाडौं । विपक्षी दलले तोकिएको समयमा वैकल्पिक सरकार दिन नसकेपछि अब प्रधानमन्त्री पदमा पुनः केपी शर्मा ओली नै नियुक्त हुने भएका छन् । आज दिनभरको कसरतमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन सकेन । खासगरी महन्थ ठाकुर पक्षको जसपाले आज डेढ दर्जन सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राख्यो, जहाँ यादव पक्षले थप चलखेल गर्न सकेन ।

फलस्वरुप विपक्षी गठबन्धनले बहुमत पुर्याउन सकेन । राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बनाउन आजसम्मको समय दिएकी थिइन् । तर, दलहरु यसमा असफल भए । खासगरी विपक्षी दलले जसपाको समर्थन नपाएपनि एमालेको माधव नेपाल समुहका सांसदको राजिनामा आउने अपेक्षा गरेका थिए ।

तर, अध्यक्ष ओली यो समुहप्रति निकै उदार बन्दै कारवाही फुकुवा गरि फकाउन सफल भएका छन् । सोहीकारण अब पुन संविधानको धारा ७६ के उपधारा ३ बमोजिम एमालेको सरकार बन्ने छ । यस प्रावधान अनुसार बनेको सरकारले एक महिना भित्र संसदमा विश्वासको मत लिनु पर्छ ।

त्यसो गर्न नसके उनी फेरि पदमुक्त हुनेछन्। सोहीकारण अबको कम्तिमा एक महिना ओली नै प्रधानमन्त्री हुने निश्चित भएको छ । राष्ट्रपतिबाट आजै राती उनलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शुक्रबार सपथ ग्रहण गराउने तयारी छ ।