विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

काठमाडौं । सरकारले विपन्न वर्गका नागरिकलाई खाना पकाउने ग्यासमा सहुलियत दिने योजना सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार उक्त जानकारी गराएका हुन् ।

उनका अनुसार अब विपन्न र सम्पन्न वर्गका नागरिकलाई ग्यासको छुट्टाछुट्टै मूल्य कायम गरिने भएको छ ।

त्यसका लागि सिलिन्डरसमेत छुट्टै ल्याउन तयारी भइरहेको छ । उनका अनुसार अब सिलिण्डरलाई व्यवसायिक र घरायसी प्रयोजनमा छुट्टाछुट्टै रंगमा ल्याइनेछ ।

घरासयी भित्र पनि विपन्न वर्गका लागि छुट्टै मूल्य कायम गरी बिक्रि गर्ने योजना रहेको मन्त्री यादवले जानकारी दिए ।

उनले सबैको आर्थिक हैसियत बराबर नहुने भन्दै खाना पकाउने ग्यासमा सहुलियत आवश्यक रहेको समेत उल्लेख गरे ।

धेरै मुलुकमा रासन कार्डका आधारमा ग्यास तथा खाद्यान्नमा छूट दिने प्रचलन भएपनि नेपालमा भने त्यसो गरिदैन ।

यसैबीच, मन्त्रालयले खसी भेडा बेच्ने दिन समेत सार्वजनिक गरेको छ । काठमाडौंमा दशैंका लागि ल्याइएका खसी च्यांग्राको बिक्रि द्धितियाबाट शुरु गरिने भएको छ ।